निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन पोखराको निजी क्षेत्रको माग

पोखरा, २२ असोज । पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही,फागुन २१ मा घोषित चुनावको सुनिश्चिता,व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको ‘उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरु’ विषयक अन्तक्र्रिया कार्यक्रमले क्रममा यो धारणा बनेको हो ।
जेन–आन्दोलनको क्रममा उद्योग र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले व्यवसाय गर्नु र नाफा कमाउनु अपराध हो भन्ने भाष्य स्थापित गर्न खोजेको र त्यो भाष्यलाई बदल्नुपर्ने अवधारणासहित पोखरा उद्योग वाणिज्य संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकाहरुलाई दोषी करार गर्ने काम भयो । धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजियो,’कार्यक्रमको अवधारणा पस्कँदै संघका अध्यक्ष गोकर्ण कार्कीले भने,‘ के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना एवं राज्यलाई कर तिर्नु अपराध हो ? विद्धानमा ज्ञान आर्जन र व्यवसायीमा नाफाको भोक जाग्नुलाई अपराध करार गर्न मिल्छ ?’
उनले जेन–आन्दोलनको क्रममा उठान भएका मागहरुसँग भने निजी क्षेत्र सहमत भएको बताए । उनले भने,‘ एक जिम्मेवार नागरिकको रुपमा हामी पनि सरकारी कार्यालय जाँदा एउटै झ्यालबाट फटाफट काम होस् भन्ने चाहन्छौँ । उद्योग÷व्यवसाय बिना झन्झट दर्ता र खारेजी गर्न पाइयोस्, व्यवसाय गर्ने उपक्रममा मानसिक प्रताडना झेल्न नपरोस्, कसैलाई ज्यू–हजुरी र खातिरदारी गर्न नपरोस् भन्ने हाम्रो चाहना हो । सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको छ । युवालाई जिम्मेवारी हस्तान्तरणको विषयमा पनि हामी प्रष्ट छौँ । युवालाई कसरी जिम्मेवार बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरा उद्योगी÷व्यवसायीबाट सिक्दा राम्रो हुन्छ भन्ने कुरा पनि हामीले पटक–पटक भन्दै आएको विषय हो ।’
अध्यक्ष कार्कीले आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि आगजनी, लुटपाट र तोडफोडलाई चाहिँ अपराधको संज्ञा दिए ।
‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरु क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन । समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन,’उनले भने,‘परिवर्तनका खातिर सच्चा मनले सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा जनधनको क्षति ब्यहोर्नुभएका उद्योगी व्यवसायीहरुसँग मन कमजोर नबनाउन हार्दिक आग्रह गर्दछु भने अपराध कर्ममा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गरी क्षति भोगेका व्यवसायीहरुलाई राहत प्रदानको लागि सरकारसँग जोडदार माग गर्दछु ।’
उनको विषय प्रवेशसँगै कार्यक्रमका प्रमुख वक्ता पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विगतमा केही कमजोरी प्रदर्शन गरे पनि देशलाई सही दिशा दिन एकजुट हुँदै राजनीतिक दलहरुलाई दवाब दिनुपर्ने बताए ।
उनले जेन–जी आन्दोलनपछि उत्पादन र वितरण प्रणालीको कडी टुटेकाले अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था रहेको बताउँदै अगाडि भने,‘ अहिले जलाइएका संरचना ठड्याइए पनि के हिजोकोजस्तै आगजनी, तोडफोड र लुटपाट दोहोरिन्छ कि दोहोरिँदैन भन्ने प्रश्न पनि हाम्रो सामु रहेको छ ।’
जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको जिकिर गर्दै मुल्मीले देशमा कठीन दिन आउनसक्ने चिन्ता जाहेर पनि गरे ।‘ जसरी राजनीतिक दलहरुलाई निषेध गरिएको छ र म कुनै राजनीतिक दलमा छैन भन्नेलाई च्यापिएको छ, यसले द्वन्द्व निम्त्याएको छ,’उनले भने,‘ हाम्रो अर्को प्रयास मुठभेडको राजनीति गर्न नदिनु पनि हो । निषेध र प्रतिशोधको राजनीति सुरु भएको छ । एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ ।’
यतिबेला हाम्रो लागि (निजी क्षेत्र) को लागि बोलिदिने र दया देखाउने कुनै वर्ग नै नरहेको जिकिर गर्दै फागुन २१ का लागि घोषित चुनाव सफल बनाउन अहिलेको जेन–जी पुस्तासहित राजनीतिक दलहरुलाई दवाब दिनुपर्ने धारणा पनि राखे ।
दण्डहीनताको अन्त्य हुनैपर्ने पनि उनको धारणा थियो । उनले भने,‘ अर्को कुरा हामीले आगजनी,लुटपाट र अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनै पर्छ । के सरकारले कानूनविहीन राज्य निर्माण गर्न खोजेको हो भन्ने प्रश्न हामीले नै गर्ने हो । हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारकै हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन ।’
जेनजी आन्दोलनको क्रममा जलाइएको होटल सरोवरका संचालक प्रतिकराज पहारीले भवन जल्नुको पीडा र डर त छँदैछ तर त्यसभन्दा पनि ठूलो डर व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा बढी भएको बताए । उनले आफ्नो परिवारले ऋण गरेर बनाएको होटलमा सुनियोजित तवरले आजनी र लुटपाट गरिएको बताउँदै अपराधीमाथि कारवाही हुनुपर्ने माग पनि गरे ।
देश कुनै सुपरम्यान आएर नबनाउने बताउँदै उनले अगाडि भने,‘अब हामी आर्थिक समावेशीकरणको बाटोमा लाग्नुपर्ने भएको छ । पहुँच भएकाले मात्र व्यापारमा लाग्ने हैन, पहुँच हुनेले मात्र राजनीतिमा अवसर पाउने हुनु हुँदैन । देश कुनै सुपरम्यान आएर बनाउने हैन । मान्छेलाई कसरी उद्यमी बनाउने र सकारात्मक कार्यमा लगाउने भन्ने सामूहिक आवाज अहिलेको आवश्यकता हो ।’
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आन्दोलनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने उनको भनाइ थियो ।
पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले आफ्नै सम्पत्ति जल्दा पनि हेर्नबाहेक केही गर्न नसकेको पीडा पोग्दै आउँदा दिनमा यस्तो अराजकता नहोस् भन्ने कामना गरे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण हुँदा पनि निरीह बन्नु परेकोमा दुःख व्यक्त गर्दै अपराधीमाथि कारवाहीको माग गरे ।
अगुवा महिला उद्यमी तथा कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष सीता गुरुङले जेनजी आन्दोलनमा भएको क्षतिले व्यवसाय धरासायी भएको बताउँदै राहत र पुनस्र्थापनाका कार्य छिटो हुनुपर्नेमा जोड दिइन् ।
नोटः कार्यक्रममा प्रमुख व्यक्तिबाट अभिव्यक्त विचार पनि सामेल गरिएको छ । आफू अनुकूल प्रयोग गर्नुहोला ।
२.आनन्दराज मुल्मीको अभिव्यक्तिको टिपोट ः
निजी क्षेत्रले बोल्ने भाषा आत्मकेन्द्रीत ( सेल्फ सेन्टर्ड) छ । निजी क्षेत्र एकाङ्की भएर बस्न सक्दैन र हामीले सबै क्षेत्रलाई प्रभावित गर्न सक्छौँ भन्ने बिर्सेका छौँ । हामीले पछिल्लो समय सहुलियत, सुविधा,छुट र मिनाहामा बढी ध्यान केन्द्रीत गरेका छौँ । मुलुकको चुनौतीबारे कम चर्चा भएको छ । सम्भवतः हामी माथिको पछिल्लो आक्रमणको एउटा कारण हाम्रो (निजी क्षेत्रको) भूमिकालाई व्यापक नगरेकैले पनि हुनसक्छ । यसमा निजी क्षेत्रले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ ।
यतिबेला हामी मुलुकको भविष्यबारे चिन्तित छौँ । अर्थतन्त्र कमजोर हुँदा राज्य नरहने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । हाम्रा शुभेच्छुक विदेशी दातृ संस्थाहरुले जेन–जी आन्दोलनकै कारण मुलुकको अर्थतन्त्र कमजोर हुने बताइसकेका छन् । कसैले नभने पनि हामी आफैंले पनि प्रतिव्यक्ति आय कम हुने र अर्थतन्त्रको गति घट्ने महसुस गरेकै छौँ । अहिले उत्पादन र वितरण प्रणालीको कडी टुटेको छ । अर्थतन्त्र यही अवस्थामा रहन्छ कि रहँदैन भन्ने अवस्था छ भने अहिले जलाइएका संरचना ठड्याइए पनि के हिजोकोजस्तै आगजनी, तोडफोड र लुटपाट दोहोरिन्छ कि दोहोरिँदैन भन्ने प्रश्न पनि हाम्रो सामु रहेको छ ।
नेपालमा रहेका गैरसरकारी संस्थाहरु त हिजोदेखि नै आफ्नो स्वार्थमा काम गरिरहकै थिए । अहिले त हाम्रो सिंगो कर्मचारीतन्त्र,राजनीतिक दल, निजी क्षेत्र पनि विदेशीको भूमरीमा परेको देखिएको छ । जेन–जी आन्दोलनले यो प्रष्ट पारेको छ । हाम्रोमा धेरै पहिलेदेखि अनौपचारिक कुराकानीमा यो देश कसैलाई दिए हुन्छ नि भन्ने अनौपचारिक कुरा हुन्थे । मुलुकभित्र नै आफू हराएको महसुस हुँदा त्यस्तो अभिव्यक्ति आएको हुन्थ्यो । नागरिकमा राज्यविहीनताको महसुस हुँदाको अभिव्यक्ति थियो,त्यो । नेपाल कयौं वर्षदेखि राज्यविहीनताको अवस्था नै थियो । देशभित्र नै आफू हराएको महसुस गर्ने प्रवृत्ति बढ्दो थियो । सरकार र दलहरुले गर्नुपर्ने निर्णय बाहिरकाले गर्ने र नेपाललाई प्रयोगशाला बनाउने काम भइरहेको कुरा नागरिकस्तरसम्मै पुगेको थियो ।
कसैले भने पनि नभने पनि नेपाललाई प्रयोगशाला बनाउने खेलमा अमेरिका, चीन र भारत पहिलेदेखि नै सक्रिय थिए । उनीहरु नेपाललाई आफ्नो सुरक्षा छाताभित्र बसोस् भन्ने चाहन्थे । यहाँ एमसीसी वा बीआरआइ जे भने पनि त्यो विकासको मात्र नभएर सुरक्षा रणनीतिको विषय पनि थियो । युरोपियन युनियन चाहिँ नेपालमा समावेशीता स्थापित गर्न उद्यत थियो । त्यसमध्ये नेपालको सरकार निर्माणमा चाहिँ भारत सबैभन्दा शक्तिशाली थियो । सामान्य नागरिकले बोल्न र भन्न नसकेको कुरा अहिलेको आन्दोलनमा बोलिएको छ । यो विषय गम्भीर छ ।
जेन–जी आन्दोलन र नयाँ सरकार गठनसँगै देशमा निषेधको राजनीति सुरु भएको छ । त्यसले हाम्रा कठीन दिन पनि सुरु गराउँदै छ । जसरी राजनीतिक दलहरुलाई निषेध गरिएको छ र म कुनै राजनीतिक दलमा छैन भन्नेलाई च्यापिएको छ, यसले द्वन्द्व निम्त्याएको छ । यतिबेला हाम्रो लागि (निजी क्षेत्र) को लागि बोलिदिने र दया देखाउने कुनै वर्ग नै छैन । न राजनीतिक दल, न सरकार न आन्दोलनरत पक्षले नै निजी क्षेत्र पीडामा छ भन्ने कुरा गरेका छन् । हामीले कमाएकोमा चिलले सिनोमा आँखा गाडेजस्तो गरिएको छ । जुनबेला डेडिकेटेड लाइनको असुलीको लफडा सतहमा आयो र अहिले पुनः आएको छ, त्यसले पनि राम्रो संकेत गरेको छैन । जवर्जस्ती उठाउँछु र दिनुपर्दैन भन्ने दुवै कुरा गलत थिए । उपयोग गरेकोको महसुल दिनुपर्छ । एउटा सरकार आउँदा वा हुँदा तिर्नुपर्छ भन्ने र अर्को हुँदा तिर्नुपर्दैन भन्ने कुरा गलत थियो । यसले निजी क्षेत्रलाई कमजोर बनायो । एउटा वर्गले सत्ताको आडमा छुट लिँदा त्यसको मार मध्यमवर्गीय व्यवसायीमा परेको छ ।
अहिलेको समस्याबाट मुक्ति भनेको फागुन २१ मा हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु नै हो । यो सबैभन्दा राम्रो बाटो हो । संसद पुनस्र्थापनाको मागले समस्या संवोधन गर्छ भन्ने लाग्दैन । यो मेरो व्यक्तिगत विचार हो । त्यो विचारमा विभिन्न राजनीतिक दल त के कुरा त्यही विषय उठान गर्ने दलका सांसद नै सहमत हुन्छन् भन्ने ग्यारेण्टी छैन । यसअघिको संसदमा आफ्नै दलका सांसदले प्रस्तुत गरेको विधेयकमाथि मतदान हुने क्रममा केही सांसद अनुपस्थित भएको घटनालाई सम्झनुपर्छ । चुनाव भएन भने के होला ? अहिलेको प्रधानमन्त्री मुडी, दृढ निश्चयी हुनुहुन्छ । उहाँले चुनावअघि नै राजीनामा दिनुभए के होला ? सुशीलाजीपछि को ? के जेन–जीले प्रधानमन्त्री नियुक्त गर्ने हो ? के प्रधानसेनापतिले गर्ने ? फागुनमा चुनाव भएन भने वैशाखमा चुनाव हुनसक्दैन । त्यो धकेलिन्छ र असोजतिर पुग्छ । एक वर्ष देशमा निर्वाचित सरकार नहुँदा कस्तो अवस्था आउला ? यहाँ एकैपटक ३१ वटा कारागारबाट कैदी भागेका छन् । तीमध्ये आधा फर्केका छैनन् । यस्तो अवस्थामा सुरक्षा चुनौतीबारे पनि सोच्नुपर्छ । अहिले पोलिटीकल डिरेल भएको छ । चीन अहिले एक्लो परेको छ भने अरु ३ शक्ति (भारत,अमेरिका र युरोपियन युनियन) एकातिर छन् ।
चुनाव नहुनु भनेको अराजकता बढनु हो । सुशीलाजीले छाडेमा यहाँ राष्ट्रपति शासनको कुरा आउला । नत्र सेनाको ब्याकअपमा कोही प्रधानमन्त्री हुने अवस्था आउला । त्यो अवस्था आउन नदिनका निम्ति राजनीतिक दलहरुले केही न केही त गर्नैपर्छ । चुनाव देशलाई लोकतन्त्रकै बाटोमा हिँडाउने उत्तम उपाय हो ।
यहाँ असोज २५ मा आन्दोलनको कुरा आएको छ । असोज २५ ले हामीलाई कस्तो प्रभाव पार्ला ? यो सोचनीय छ । द्वन्द्व चर्कियो भने निस्कनै नसक्ने अवस्था आउन पनि सक्छ । अहिले राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने देखिएको छ । दलहरु आन्तरिक संघर्षमा छन् तर आन्तरिक संघर्ष गर्ने कि नागरिकको कुरा गर्ने भन्ने महत्वपूर्ण विषय हो । नेताहरुले आफ्नो पार्टी त बिगारे नै देश बिगार्नु भएन ।
स्वतन्त्र रुपले कुरा गर्ने हो भने हामी निर्दलीयतातर्फ लागिरहेको जस्तो देखिन्छ । त्यसैले यो परिस्थितिमा राजनीतिक दलहरुल्ले सर्वपक्षीय रुपले जिम्मेवारी लिनुपर्छ । दलको नेतृत्व परिवर्तन जनताको चासोको विषय हैन । देशको समस्या समाधान हाम्रो चाहना हो । यो कुरा निजी क्षेत्रले उठाउनु पर्छ । जेन–जीहरु संगठित हुने प्रक्रियामा छन् । उनीहरु पनि दलको रुपमा आउलान् । उनीहरुसँग शक्ति छ । कम्तिमा ७ हजार जना त उनीहरुले बोलाएको डिस्कर्डमै भेला हुने रहेछन् नि त । शक्ति त छ नै । ती सबै पक्षसँग निजी क्षेत्रले संवाद गर्नुपर्छ । हाम्रो रक्षाको लागि राजनीतिक दल र युवाहरु बोल्ने वातावरण बन्नुपर्छ ।
अर्को कुरा हामीले आगजनी,लुटपाट र अपराध गर्नेहरुलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध आवाज उठाउनै पर्छ । के सरकारले कानूनविहीन राज्य निर्माण गर्न खोजेको हो भन्ने प्रश्न हामीले नै गर्ने हो । हामीलाई सुरक्षा दिने जिम्मेवारी सरकारकै हो । अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन ।
हाम्रो अर्को प्रयास मुठभेडको राजनीति गर्न नदिनु पनि हो । निषेध र प्रतिशोधको राजनीति सुरु भएको छ । एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ । यो अवस्थाको अन्त्य गरिनुपर्छ ।
३.अध्यक्ष गोकर्ण कार्कीको स्वागत मन्तव्य
आजको यस कार्यक्रममा स्वागत मन्तव्यको लागि उभिइरहँदा सर्वप्रथम म यहाँहरुलाई यो अमृत कक्षका झ्यालका फुटेका सिसा, त्यसभन्दा उतापट्टिको जलेको जिल्ला प्रहरी कार्यालयको भवनतिर नजर लगाउन अनुरोध गर्दछु । यही असोज २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट पोखराका ४२ वटाभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा ३ अर्बको हाराहारीमा क्षति पुगेको छ । व्यवसायीहरुमाथि भएको यो आक्रमणको निन्दा गर्नका निम्ति शब्दहरु पनि पर्याप्त छैनन् भन्ने मेरो बुझाइ रहेको छ ।
एक जिम्मेवार नागरिकको रुपमा हामी पनि सरकारी कार्यालय जाँदा एउटै झ्यालबाट फटाफट काम होस् भन्ने चाहन्छौँ । उद्योग÷व्यवसाय बिना झन्झट दर्ता र खारेजी गर्न पाइयोस्, व्यवसाय गर्ने उपक्रममा मानसिक प्रताडना झेल्न नपरोस्, कसैलाई ज्यू–हजुरी र खातिरदारी गर्न नपरोस् भन्ने हाम्रो चाहना हो । सुशासन कायम हुँदा लगानीको वातावरण स्वतः निर्माण हुन्छ भन्ने हाम्रो ठम्याइ रहँदै आएको छ । युवालाई जिम्मेवारी हस्तान्तरणको विषयमा पनि हामी प्रष्ट छौँ । युवालाई कसरी जिम्मेवार बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरा उद्योगी÷व्यवसायीबाट सिक्दा राम्रो हुन्छ भन्ने कुरा पनि हामीले पटक–पटक भन्दै आएको विषय हो । यस कारण जेनजी आन्दोलनले उठान गरेका विषयहरुप्रति निजी क्षेत्रको कुनै आपत्ति थिएन । युवाहरु सडकमा उत्रिए । विसंगतिविरुद्ध आवाज उठाए । त्यहाँसम्म ठीकै थियो तर जब आन्दोलनको नाममा देशैभर निजी क्षेत्रका संरचनामाथि आगजनी, लुटपाट र तोडफोड हुन थाल्यो,त्यो अपराध थियो । अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन र अपराध कर्ममा संलग्नहरु क्रान्ति नायक हुन सक्दैनन् । अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि हुँदैन । समाजमा थिति बस्दैन, प्रगति पनि हुँदैन ।
म आजको यस कार्यक्रममा परिवर्तनका खातिर सच्चा मनले सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा जनधनको क्षति ब्यहोर्नुभएका उद्योगी व्यवसायीहरुसँग मन कमजोर नबनाउन हार्दिक आग्रह गर्दछु भने अपराध कर्ममा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गरी क्षति भोगेका व्यवसायीहरुलाई राहत प्रदानको लागि सरकारसँग जोडदार माग गर्दछु ।
पोखरा उद्योग वाणिज्य संघले जेनजी आन्दोलन र उत्पन्न विषम परिस्थितिमा उद्योगी÷व्यवसायीहरुको सुरक्षाका निम्ति सरोकारवाला निकायहरुसँग समन्वय गर्दै अगाडि बढेको यहाँहरुलाई अवगत नै छ । डर–त्रासको बीचमा पनि हामीले हाम्रा धारणाहरुलाई प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिरह्यौँ । हामी हाम्रा कुरा भन्नबाट पछि हट्ने छैनौँ र उद्योगी व्यवसायीहरुको हक–हित रक्षाका निम्ति निरन्तर पैरवी गरिरहने छौँ ।
जेनजी आन्दोलनले सरकार परिवर्तन भएको छ । देश नयाँ संसदीय चुनावमा जाँदैछ । तर,आन्दोलनपछिका परिदृष्यहरु पनि उति सुन्दर छैनन् । जेलबाट भागेका अपराधीहरु खुलेआम हिँडीरहेका छन् । त्यसले सर्वसाधारणमा त्रास बढाएको छ । सुरक्षा अंग र खासगरी प्रहरीको मनोबल गिरेको छ । जेनजीको नाममा जे गरे पनि छुट हुन्छ भन्ने मनोवृत्ति हावी भएको छ । जेनजीकै नाममा चन्दा आतंक, जेनजीकै नाममा गुण्डागर्दी,जेनजीकै नाममा लुटपाट हुने हो कि भन्ने आशंकालाई भोटेकोशी जलविद्युतमा माएिको हिस्सेदारीले बल पु¥याएको छ । कतिबेला कुन समूहले के निहुँमा आन्दोलन गर्ने हो र त्यसको मार निजी क्षेत्रले ब्यहोर्न पर्ने हो भन्ने त्रासका बीच हामी रहेका छौँ ।
अबका केही महिना हामी संयम र चनाखो रहनुपर्ने एकातिर छ भने संगठित हुँदै सुरक्षा र अधिकारका निम्ति लड्नुपर्ने आवश्यकता अर्कोतर्फ देखिएको छ ।
निजी क्षेत्रले अराजकता थेग्न सक्दैन । अराजकता र कुशासनयुक्त ठाउँमा कसैले लगानी पनि गर्दैन । लगानीको लागि शान्ति–सुव्यवस्था पहिलो सर्त हो । माननीय अर्थमन्त्रीज्यूले निजी क्षेत्रलाई साथमै लिएर अगाडि बढ्ने घोषणा गर्नुभएको छ । केही राहत र सहुलियतका प्याकेज पनि घोषणा भएका छन् । ती निर्णयहरु स्वागतयोग्य छन् तर राजनीति तरल अवस्थामामा निजी क्षेत्र सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हाम्रो माग हो ।
जेनजी आन्दोलनको क्रममा सुनियोजित रुपले व्यवसाय गरेर धन आर्जन गरेकाहरुलाई दोषी करार गर्ने काम भएको छ । धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । के रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना एवं राज्यलाई कर तिर्नु अपराध हो ? यो आपराधिक मनोवृत्तिबाट समाज मुक्त नभएसम्म हामी सुरक्षित रहँदैनौँ । त्यसैले यो गलत भाष्यका विरुद्ध हामी गोलबन्द हुनैपर्छ । दरिलो आवाज उठाउनै पर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको ठहर रहेको छ । हामी निजी क्षेत्रमाथि भौतिक र मानसिक दुवैखाले आक्रमण नहुने सुनिश्चितता चाहन्छौँ । हामी राज्यलाई कर तिर्ने नागरिक हौँ र यो देश हाम्रो पनि हो । जति अरुको अधिकार छ, त्यति नै हाम्रो पनि अधिकार छ । आवश्यक परे आन्दोलन गर्न हामीले पनि जानेका छौँ भन्ने सन्देश दिन सकिएन भने आगामी दिन झन चुनौतीपूर्ण रहने छन् भन्ने पनि मेरो व्यक्तिगत धारणा रहेको छ ।
आजको कार्यक्रम आउँदा दिनमा हामी कसरी अगाडि बढ्ने भन्ने विषयसँग सम्बन्धित छ । वक्ताहरुले आफ्नो धारणा राखेपछिको अन्तरक्रियामा यहाँहरुको रचनात्मक सहभागिताको लागि म हार्दिक अनुरोध गर्दछु । म खासगरी संचारकर्मी साथीहरुलाई निजी क्षेत्रको खस्किएको मनोवल उकास्नका निम्ति, उद्यमी बन्नु र पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई खारेज गर्नका निम्ति हाम्रा आवाज मुखरित गरिदिनु विशेष आग्रह गर्न चाहन्छु ।
अन्त्यमा यहाँहरुलाई आजको कार्यक्रममा पुनः स्वागत गर्दै मेरो भनाइ यहीँ अन्त्य गर्दछु ।
धन्यवाद !
३. होटल सरोवरका संचालक प्रतिकराज पहारीको भनाइ
–देशमा प्रथम महिला प्रधानमन्त्री चुनिनु भएको छ, यो गौरवको कुरा हो । म आशा गर्छु कि– जेन–जी साथीहरूको आन्दोलनको मर्मलाई बुझी उहाँले देशलाई सही दिशातर्फ लैजानुहुन्छ । म विश्वास गर्छु कि– देशमा शान्ति र सुशासन कायम हुनेछ र देशमा उद्योग गर्ने वातावरण बन्नेछ अनि अन्यायमा परेकालाई न्याय मिल्नेछ ।
युवाहरूको आक्रोश जायज थियो । भ्रष्टाचार र बेथिथि निकै बढेको थियो तर शान्तिपूर्ण आन्दोलन जरुरी थियो । युवाहरूको ज्यान गुम्नु अत्यन्तै दुःखद घटना भयो तर युवाहरूको नाममा भएको अराजकता र तोडफोड पनि त्यत्तिकै पीडादायी भयो ।
म यस आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । म यसपालि भएको अराजकतामा सहादत प्राप्त गरेका नागरिकहरूप्रति पनि समवेदना प्रकट गर्न चाहन्छु ।
त्यस्तै गरी राज्यका संरचना र व्यवसायहरूमा भएका लुटपाट,तोडफोड र आगजनीको पनि भत्र्सना गर्न चाहन्छु ।
यसै सन्दर्भमा, भदौ २४ मा हामीले सञ्चालन गर्दै आइरहेको होटल सरोवरमा पनि तोडफोड र आगजनी गरियो । जेन–जीको नाममा केही आपराधिक र अराजक समूह आएर होटललाई तोडफोड, लुटपाट, अनि आगजनी गरे ।
उनीहरू नियोजित ढंगले आएका थिए र उनीहरूका हातमा हतियार पनि थिए । उनीहरुलाई थाहा थियो, आगो निभाउने सामान कहाँ छ भनेर । उनीहरुले त्यसमाथि आक्रमण गरे । हरेक कोठमा मिनिरल वाटरको बोत्तलमा लगेको पेट्रोल छर्किए । आगो लगाए । त्यहाँ भएका पाहुनाको सामान पनि लुटिए ।
यस्ता कठिन घडीमा हाम्रा निडर कर्मचारीहरूले १२० भन्दा बढी पाहुनाहरूलाई सुरक्षित स्थानमा लैजानुभयो र रातभर आगो निभाउन लागिपर्नुभयो । उहाँहरूको प्रयास साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ । तर, दुःखको कुरा भने सुरक्षा निकायबाट कोही पनि आएन,रातभर होटल जलिरह्यो ।सुरक्षा निकायले आफ्नो हात बाँध्दा राज्य अराजकतामा गयो । पाहुनाहरूको मात्र ५० लाखभन्दा बढीको सामानको नोक्सानी भयो । होटलको त धन्नधन्न अरबमै नोक्सानी भयो ।
यो हिंसात्मक गतिविधिले हामीलाई मात्र होइन, अन्य व्यवसायीहरूलाई पनि ठूलो क्षति पु¥यायो । यस्ता अन्याय भविष्यमा अरूलाई पर्न नदिन हामी सबै सजग हुनुपर्छ । म आशा गर्दछु कि, नयाँ सरकारले न्यायपूर्ण र सुरक्षित समाजको निर्माण गर्नुपर्छ भन्ने लाग्छ । दोस्रो विश्वयुद्धताका जसरी पास्टर मार्टिन नीमोलरले भन्नुभएको थियो,‘पहिले तिनीहरू समाजवादीहरूका लागि आए, म बोलिनँ किनभने म समाजवादी थिइनँ ।म चुप लागेर बसेँ । त्यसपछि तिनीहरू ट्रेड युनियनिस्टहरूका लागि आए…त्यसपछि यहूदीहरूका लागि आए…अनि अन्त्यमा जब मसँग आए,तब मेरा लागि बोल्ने कोही बाँकी थिएनन् ।’ यो अवस्थामा,कानून र राज्यविहीन लाचार समाजमा बसेर सोच्दा आगामी दिनमा यस्तो फेरि हुन्छ कि भन्ने लाग्छ । यदि हामी अरूको अन्यायमा मौन बस्यौं भने, जब अन्याय हामीमाथि आउँछ, हाम्रो पक्षमा बोल्न को आउला ?यस्तो भोलि तपाईं–हामीहरूका व्यवसायमा फेरि पनि हुन सक्छ । यो डर लाग्दो कुरा हो ।
मैले चीन र अमेरिकामा व्यवसाय पढ्ने अवसर पाएको थिएँ । त्यहाँ पनि व्यवसाय गर्न गाह्रो कुरा मानिन्छ । देशमै बसेर केही गरौँ भन्ने सोचेर रिस्क मोलौँ न त भनेर हामीले व्यवसाय गर्ने सोच बनाएका थियौँ । हामीसँग अलिकति जग्गा थियो र त्यसले पनि हामीलाई केही गरौँ भन्ने बनायो । त्यसमा पनि हाम्रो देशको जस्तो वातावरणमा आफ्नै पैतृक जग्गा बेचेर र धेरै मात्रामा ऋण लिएर जोखिम मोल्दै लगानी गर्नु ठीक थियो कि थिएन भनेर म कहिलेकाहीँ सोच्दछु । तर, फेरि यो आफ्नै ठाउँसँग जोडिएको भावना हो । हामी–जससँग जोखिम लिन सक्ने क्षमता छ र अलिकति पैतृक सम्पत्ति पनि छ, यदि हामीले आफ्नै ठाउँमा लगानी गरिएन भने कसले गर्ला भन्ने कुरा पनि म सोच्दछु ।
अहिले हामीमा भवन जल्नुको पीडा र डर त छँदैछ तर त्यसभन्दा पनि ठूलो डर व्यवसायीहरूमा उद्यम गर्ने सोचलाई नै जलाइयो कि भन्नेमा अझ बढी छ । के हामीले विदेशी लगानीकर्तालाई भित्र्याउको सट्टा के स्वदेशी लगानीकर्तालाई नै निरुत्साहित गर्दैछौं ?यो कुरा सबैले बुझ्न आवश्यक छ ।
चीन र अमेरिकामा अध्ययन गर्दा हामीलाई सिकाइन्थ्यो कि, विकासको मूल बाटो भनेको उत्पादन क्षमता बढाउनु र रोजगार सिर्जना गर्नु हो । आर्थिक समावेशीकरणले नै विकास हुन्छ । विकासको सिर्जना व्यवसाय सुरु गरेर नै हुन्छ । हाम्रो अहिलेको बेरोजगारी २० प्रतिशतबाट ४ प्रतिशतमा झार्नैपर्छ । कुनै पनि देशले उत्पादन क्षमता बढाउनु अघि विकास गर्न सक्दैन । तर, उत्पादन बढाउने र रोजगार दिने संयन्त्रलाई नै तहसनहस गर्दा के हामीले धेरै अण्डा पाउने लोभमा अण्डा दिने हाँसको पेट नै चिरेका छैनौं ?
अराजकता भनेको अराजकतै हो, अन्याय भनेको अन्याय नै हो । यसलाई कुनै शब्दबाट ब्याख्या गर्न पर्दैन । नयाँको वकालत गर्ने आन्दोलनले के अन्यायको जगमा आफूलाई स्थापित गर्न सक्छ ?यस्तो अराजकता गर्ने दोषीले सजाय पाएमात्र नयाँ व्यवस्था स्थापित हुन्छ जस्तो लाग्छ । अराजकता हुन दिनु हुँदैन । न्याय मार्न हुँदैन ।
हाम्रो होटल यात्रा सुरु थिएन । हाम्रो व्यवसाय सन् १९६० को दशकमा सुरु भएको थियो, जब हिप्पीहरु हाम्रो जग्गामा क्याम्पिङ गर्थे ।
४४ वर्षअघि ठूलोबुबा, बुवाहरुले होटल सरोवर स्थापना गरेका गर्नुभएको थियो । ४४ वर्षअघि पनि हामीले जग्गा बेचेरै व्यापार सुरु गरेका थियौं, केहीपछि ठूलोबुबाले आफ्नै होटल खोल्नुभयो । त्यसपछि केही समय यो बन्द भयो । नब्बेको दशकमा बुबाले इन्जिनियरिङ सक्नुभयो । होटलको डिजाइन गर्नुभयो तर बैंकले हामीलाई पत्याएन । सन् २०१३ तिर हामीले फेरि जग्गा बेच्यौँ, बीउ पूँजी बनायौँ । ४४ वर्षको सपनालाई मूर्तरुप दिएर फेरि होटल बनायौँ । २०१८ को अन्त्यतिर फेरि जोखिम मोल्दै अर्को होटल स्थापना ग¥यौँ । त्यसपछि कोभिड भयो । २ वर्ष बन्द गर्नुप¥यो । हामीले सुरु गरेको यात्रा सजिलो थिएन तर यिनै चुनौतीहरूले हामीलाई अझ बलियो र दृढ बनाउँदै लग्यो । कोभिड, खराब राजमार्ग र विमान दुर्घटनाजस्ता कठीन क्षणहरूले हाम्रो हिम्मतलाई अझ प्रबल बनाए ।
भदौ २४ को तोडफोड र आगजनीले हामीलाई गहिरो चोट लागाए पनि हाम्रो सपना,परिश्रम, र समाजमा उद्योगबाट केही गर्ने संकल्प भने अडिग छ,सायद हामीसँग विकल्प नभएर पनि होला । हामी विचलित भएका छैनौं । हामीले सधैं संकटलाई अवसरमा बदल्दै आएका छौं र यस संकटलाई पनि नयाँ सम्भावनाको ढोका बनाउने आत्मबल राख्छौं । अहिले पनि हामी १८ घण्टा काम गर्दैछौँ, होटललाई छिटो सुचारु गर्ने सोचिरहेका छौँ ।
खैर, जे भयो ! सबैभन्दा महत्वपूर्ण कुरा–हाम्रा पाहुना, कर्मचारी र परिवार सबै सुरक्षित हुनुहुन्छ । यही नै अहिलेको सबैभन्दा ठूलो धरोहर हो । हाम्रा कर्मचारी, अतिथि र शुभचिन्तकहरूको निरन्तर सहयोग र माया नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।यही हौसला र एकताले हामीलाई फेरि उठ्न, होटललाई जीवन्त बनाउन र अझ सशक्त रूपमा अघि बढ्न ऊर्जा दिएको छ । हामीलाई गाह्रो छ, पीडा पनि छ,डर पनि छ तर हामी छिट्टै पुनः सञ्चालनमा फर्कनेछौं र अझ सशक्त भएर अघि बढ्नेछौं । हामी विश्वस्त छौं कि पोखरा उद्योग वाणिज्य संघ र अन्य सामाजिक संस्थाहरूको सामूहिक ज्ञान,अनुभव,सञ्जाल, वकालत र सहयोगले हामीलाई यो कठीन समयलाई शक्तिको रूपमा परिवर्तन गर्न सहयोग गर्नेछ । अब हामी आर्थिक समावेशीकरणको बाटोमा लाग्नुपर्ने भएको छ । पहुँच भएकाले मात्र व्यापारमा लाग्ने हैन, पहुँच हुनेले मात्र राजनीतिमा अवसर पाउने हुनु हुँदैन । देश कुनै सुपरम्यान आएर बनाउने हैन । मान्छेलाई कसरी उद्यमी बनाउने र सकारात्मक कार्यमा लगाउने भन्ने सामूहिक आवाज अहिलेको आवश्यकता हो । म आशावादी छु कि हामी सबै मिलेर एउटा नयाँ समाज निर्माण गर्न सम्बन्धित निकायहरूमा पहल गर्नेछौं ।
धन्यवाद !