पर्यटनमन्त्रीको घोषणा –पोउवा संघ मेरो अघोषित सल्लाहकार

पोखरा, ९ असोज । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा उद्योग वाािण्ज्य संघलाई आफ्नो ‘अघोषित संस्थागत सल्लाकार’को रुपमा राख्ने उद्घोष गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा बुधबार आयोजना गरेको बधाई ज्ञापन तथा स्वागत कार्यक्रमको उपक्रममा अध्यक्ष गोकर्ण कार्कीले उठाएका विषयहरु सुनेपछि उनले सो उद्घोष गरेका हुन् ।
‘२०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघले पर्यटनसहित पोखराको विकासमा ठूलो योगदान गरेको छ, संघसँग भएको संस्थागत ज्ञानको उपयोग हुनुपर्छ,’ मन्त्री पाण्डेले भने,‘पर्यटकीय राजधानीमा रहेको यो संघलाई म मेरो अघोषित सल्लाहकारको रुपमा लिन्छु ।’
त्यसअघि संघका अध्यक्ष गोकर्ण कार्कीले बुँदागत रुपले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने कामको बारे मन्त्रीसमक्ष जानकारी गराएका थिए । संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा अध्यक्ष कार्कीबाट प्रस्तुत स्वागत मन्तव्यको पूर्ण पाठ यस्तो थियो–
माननीय बद्रीप्रसाद पाण्डे
मन्त्री
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरबार,काठमाडौं
विषय ः ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
सर्वप्रथम उद्योगी÷व्यवसायीहरुको एकमात्र साझा छाता संस्था एवं पोखराको जेठो सामाजिक संस्थाको तर्फबाट हामी यहाँलाई हार्दिक बधाईसहित सफल कार्यकालको कामना गर्दछौँ । माननीय मन्त्रीज्युलाई ‘पर्यटनको राजधानी’पोखरामा स्वागत गर्न पाउँदा हामी हर्षित एवं पुलकित छौँ । यहाँको यो उपस्थितिले पोखराको पर्यटन उद्योगमा नयाँ आयाम थपिनेमा पनि हामी विश्वस्त भएका छौं ।
माननीय मन्त्रीज्यू,नेपालको अर्थतन्त्रको मेरुदण्ड नै पर्यटन हो भन्ने कुरा यहाँलाई अवगत नै छ । महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहँदा पर्यटन उद्योगको विकास एवं प्रवद्र्धनको लागि यहाँबाट हुने सार्थक प्रयत्नमा सम्पूर्ण निजी क्षेत्रको पूर्ण साथ रहने प्रतिवद्दतासहित बुँदागत रुपले केही विषयप्रति यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ ।
१. पोखरा उद्योग वाणिज्य संघकै पहल र नेतृत्वमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हाम्रो पहिलो सरोकारको विषय रहेको छ । पछिल्लो समय सरकारले यहाँबाट उडान भर्ने विमान कम्पनीहरुको लागि छुटको व्यवस्था हुनु स्वागतयोग्य छ तर हामीलाई परिणाम चाहिएको छ ।
२०७९ साल पुस १७ गते समुद्घाटन भएको विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन नसक्नु भनेको गण्डकी प्रदेशबासीको सपनाको तुषारापातमात्र हैन,राष्ट्रिय लज्जाको विषय बन्न पुग्यो कि ? भन्ने हामीलाई लागेको छ । अतः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको पहल गरियोस् भन्ने हाम्रो माग रहेको छ । कम्तिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र अन्य नेपाली हवाइ कम्पनीहरुबाट छिमेकी देशमा उडान भर्ने कामको सुरुवात होस् भन्ने विषय पनि हामी यहाँलाई स्मरण गराउँछौँ । अहिले नेपाल एयरलाइन्सका विमानहरु ग्राउण्डेड भएका छन् । जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडानहरु हुन सकेका छन् । जहाज नथप्ने हो भने आउँदा दिन अझ पीडादायी हुने निश्चित छ । अत ःभएका जहाजको समयमै मर्मत र नयाँ जहाज थप्ने दिशामा मन्त्रीज्यूले पहलकदमी गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।
२.पर्यटन उद्योग र ‘कनेक्टीभिटी’को अन्यौन्याश्रित सम्बन्धबारे माननीय मन्त्रीज्यू जानकार नै हुनुुहुन्छ । राजमार्गहरुको स्तरोन्नतिको गति ढिला हुँदा यहाँको पर्यटन उद्योगलाई प्रत्यक्ष असर परेको छ । अतः राजमार्गको स्तरोन्नति निर्माणको गति बढाउन पर्यटन मन्त्रालयले समन्वयकारी भूमिका निभाओस् भन्ने हाम्रो माग रहेको छ ।
३.गण्डकी प्रदेश पदयात्राको लागि प्रख्यात छ । तर,पछिल्लो समय पदयात्रा मार्गहरु खुम्चिँदै गएका छन् । मोटरबाटोका कारण पदयात्रा मार्ग नासिँदाको असर कम गर्न नयाँ पदयात्रा मार्गको खोजी,साहसिक,धार्मिक र खेल पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुमा पर्यटन मन्त्रालयले प्याकेजमै कार्यक्रम ल्याओस् भन्ने हाम्रो माग रहेको छ ।
४.गण्डकीमा रहेका संरक्षित क्षेत्र ( अन्नपूर्ण र मनास्लु) क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुका निम्ति पालिकाहरुले थप दस्तुर लगाउने काम भइरहेको छ । पालिकाहरुले आफ्नो अधिकार प्रयोग गर्दा पर्यटकमाथि थप व्यवभार पर्ने र उनीहरु अन्यत्र मोडिने खतराप्रति पर्यटन मन्त्रालयको ध्यान पुगोस् । पालिकाहरुसँग समन्वय गर्दै यो समस्या समाधानको तत्काल पहल गरियोस् । ्सडक सञ्जालमा जोडिइसकेको उपल्लो मुस्ताङ क्षेत्र प्रवेशको लागि विदेशीसँग लिइँदै आएको ५ सय डलर शुल्कमा पुनर्विचार गरियोस् । त्रिवेणी–कोरोला नाका संचालन एवं सोही मार्ग हुँदै मानसरोवरसम्मको धार्मिक यात्राको निम्ति पर्यटन मन्त्रालयबाटै पहलकदमी लिइयोस् ।
५.सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार पोखराका तालहरुको संरक्षणका निम्ति आवश्यक पर्ने बजेटका निम्ति पर्यटन मन्त्रालयले विशेष पहल–कदमी लेओस् ।
६.पोखरा र समग्र नेपालमा पर्यटकको बसाइ अवधि छोट्टिँदै गएकोमा हामी चिन्तित छौं । पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधारमा लगानी हुनैपर्छ । निजी क्षेत्र पूर्वाधारमा लगानी गर्न तयार छ । ग्रामीण क्षेत्रमा होटल, रिसोर्ट खोल्दा कम्तिमा ५ वर्षको निम्ति कर तथा शुल्कहरुमा छुटको व्यवस्था होस् ।
७. पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको छ । तर, दुःखका साथ भन्नुपर्छ– पर्यटकीय राजधानीमा पर्यटकले सम्झनास्वरुप लैजान मिल्ने सामग्रीसहितको कोेसेली घर छैन । यही आवश्यकता मनन गर्दै पोखरा उद्योग वाणिज्य संघले एउटा मौलिक र भव्य कोसेली घर निर्माणको अभियान थालनी गरेको जानकारी गराउँदै कोसेली घरको भौतिक निर्माणमा पर्यटन मन्त्रालयको तर्फबाट आवश्यक बजेटको विनियोजनको लागि यहाँसमक्ष अनुरोध गर्दछौँ । यसका साथै प्रवद्र्धनको जिम्मेवारी पाएको तथा निजी क्षेत्रसमेतको संलग्नता रहने नेपाल पर्यटन बोर्डमा पर्यटनको राजधानी पोखराको प्रतिनिधित्व नहुनु दुःखको कुरा हो । अतः नेपाल पर्यटन बोर्डमा पोखराको प्रतिनिधित्वको लागि हामी माननीय मन्त्रीज्यूसमक्ष जोडदार माग गर्दछौँ ।
८.पर्यटन उद्योगका लागि आवश्यक पर्ने तथा पर्यटकले उपयोग गर्ने बस्तुहरु उत्पादनलाई प्रोत्साहित गरियोस् । त्यस्ता उद्योग खोल्दा विशेष छुटको साथै पर्यटन उद्योगलाई उद्योग सरह मान्यता एवं सुविधा प्रदान गर्ने ब्यवस्थाका लागि अनुरोध गर्दछौ ।
९.गण्डकी र समग्र देशको मौलिक संस्कृति संरक्षणको लागि मन्त्रालयले विशेष प्याकेज घोषणा गरोस् ।
१०. प्रवद्र्धन बिना धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय संजाल भएको उद्योग वाणिज्य संघलाई प्रवद्र्धनात्मक गतिविधिको जिम्मेवारी प्रदान गर्ने ब्यवस्थाका लागि माग गर्दछौ ।
अन्त्यमा, हाम्रा चासोहरु संवोधन हुने अपेक्षासहित,हामी मन्त्रीज्यूको सुखद पोखरा बसाइको कामना गर्दछौं ।
भवदीय,
गोकर्ण कार्की
अध्यक्ष