पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त प्रेस विज्ञप्ति

पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त प्रेस विज्ञप्ति
चालु आर्थिक वर्ष २०८१÷०८२ को मध्यतिर आएर निर्माण सामग्री र खासगरी सिमेण्टमा भएको अत्यधिक मूल्यबृद्धिप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ । बितेको एक महिनाको अवधिको आँकडालाई आधार मान्ने हो भने भौतिक निर्माणमा अत्यावश्यक मानिएको सिमेण्टमा प्रति बोरा नै ३५० रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ । एक महिनाकै बीचमा अचाक्ली बढेको मूल्यका कारण लागत बढ्न जाँदा निर्माण कार्यहरु रोकिन पुगेका छन् । निश्चित कार्ययोजना र लागत अनुमानमा भौतिक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु मूल्यबृद्धिले सबैभन्दा बढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानी दिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ । चालु आर्थिक वर्षको त्रैमासिक सकिँदासम्म गण्डकी प्रदेश सरकारको भौतिक प्रगति १२ प्रतिशतको हाराहारीमा छ । कतिपय परियोजनाहरु भर्खरै ठेक्कामा गएका छन् । हाम्रो आर्थिक वर्षको स्वरुप र टेण्डर प्रक्रियालाई नै आधार मान्ने हो भने पनि आउँदा केही महिनाहरु भौतिक निर्माणले गति लिने महिनाहरु हुन् । भौतिक निर्माणले गति लिने बेलैमा सिमेण्ट र अन्य निर्माण सामग्रीको मूल्य बढ्दा सरकारकै भौतिक प्रगति कस्तो रहला ? यो प्रश्न गम्भीर बनेको छ । व्यक्तिको हकमा चाहिँ आँटेका निर्माण कार्य स्थगन हुँदा सुस्त रहेको बजारलाई अझ सुस्त बनाउने निश्चित देखिएको छ ।
पोखरा उद्योग वाणिज्य संघ संविधानप्रदत्त उद्योगी÷व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको सदैव पक्षपोषण गर्दछ भने उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झन्छ । कालोबजारी,कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई संघ सदैव अस्वीकार गर्दछ । निर्माणले गति लिने बेला एकाएक भएको मूल्यबृद्धि स्वभाविक नभएको व्यवसायी÷उपभोक्ताको दाबीमा सहमति जनाउँदै पोखरा उद्योग वाणिज्य संघ सिमेण्ट र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यबृद्धि फिर्ता लिन,बजारमा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न र खुला बजार अर्थव्यवस्थाको मर्म अनुरुप प्रतिस्पर्धात्मक व्यवस्था कायम राख्न उत्पादकहरुसँग आग्रह गर्दछ भने मूल्यबृद्धि नियन्त्रण तथा आपूर्ति व्यवस्था चुस्त–दुरुस्त पार्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछ ।

 

जानुका पराजुली अधिकारी                                                                                       शोभा गौतम
महासचिव                                                                                                                  महासचिव

मितिः २०८१।०९।२२