प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
पर्यटन तथा उद्योग कार्यालय (साविकको घरेलु तथा साना उद्योग कार्यालय) मा दर्ता भएका उद्योग÷व्यवसायको नवीकरण छुट भएको र त्यसले विभिन्न समस्या निम्त्याएको उद्योगी÷व्यवसायीहरुको गुनासोप्रति पोखरा उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको छ ।
औद्योगिक व्यवस्था ऐन २०४९, प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ र प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४ बमोजिम तोकिएको दस्तुर तिरी दर्ता भएका व्यावसायिक फर्महरु दर्ता भएको मितिले ५ वर्षसम्मको लागि वहाल रहने व्यवस्था गरेको छ भने जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरुले घरेलु तथा साना उद्योग विभागबाट प्रत्यायोजित पूँजीको सीमा रही उद्योग तथा पर्यटन कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्थाबारे हामी जानकार छौँ ।
सोही ऐनले उक्त म्याद समाप्त भएको मितिले ३५ दिनभित्र सम्बन्धित कार्यालयमा गई नवीकरण नगराएमा तोकिए बमोजिमको थप जरिवाना समेत लाग्नेछ भन्ने व्यवस्था गरेको छ । समयमा फर्म दर्ता गराउनु व्यवसायीको हितमै हुन्छ र यो उसको दायित्व पनि हो ।
प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ (नवौं संशोधन, २०७०) ले यस्तो नवीकरण अवधि २ वर्षको हुने गरी व्यवस्था गरेको अनुरुप फर्म नवीकरण गर्दा तोकिए बमोजिमको दस्तुर तिरी बुझाइ नवीकरणको व्यवस्था गरिनुलाई पनि नाजायज मान्न सकिँदैन ।
तर, पर्याप्त जानकारीको अभाव तथा व्यवसायीकै त्रुटिका कारणले पनि उद्योग÷व्यवसाय समयमै नवीकरण नभएको हामीले पाएका छौँ । उद्योग÷व्यवसाय समयमै नवीकरण नहुँदा एकातिर राज्यले आवश्यक सूचना र राजश्व प्राप्त गरेको छैन भने अर्कोतिर व्यवसायीहरुले चर्को जरिवाना र प्रताडना खेप्नु परेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमार्फत् व्यावसायिक फर्मको कारोबार निजी खातामा राख्न नपाइने र व्यवसाय दर्ता हुँदाको नाममै विद्युतीय भुक्तानीको लागि क्यूआर कोड राख्नुपर्ने प्रावधान कायम गरेको तथा नवीकरण नभएका फर्मको नाममा बैंक खाता खोल्न नसकिने भएकाले पनि व्यवसायीले थप समस्या भोग्नु परेको छ ।
अतः यो गम्भीर समस्यालाई मनन गर्दै, सबै व्यवसायीहरुलाई करको दायराभित्र आउने वातावरण निर्माणका निम्ति यसअघि प्रदान गर्दै आइएको छुटसहित व्यवसाय पुनः नवीकरणको व्यवस्था मिलाउन पोखरा उद्योग वाणिज्य संघ सरोकारवाला निकायहरुसँग जोडदार माग गर्दछ । उद्योग÷व्यवसाय दर्ता तथा खारेजी प्रक्रियामा सरलीकरण,वैधानिक तवरले व्यवसाय गर्नेहरुलाई प्रोत्साहनको लागि पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछौँ । यसका साथै, समयमा नवीकरण नहुने समस्या निराकरणको लागि पोखरा उद्योग वाणिज्य संघ, उद्योग तथा पर्यटन विभाग तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको जानकारी पनि गराउँछौँ ।