व्यावसायिक तथा उपभोक्ता हितका निम्ति पैरवी गर्दै पोउवा संघ एकैदिन ४ वटा सरोकारवाला निकायसँग शिष्टाचार भेट र ध्यानाकर्षण

पोखरा, ८ असोज । गोकर्ण कार्की नेतृत्वको पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग शिष्टाचार भेटघाटलाई तीब्र बनाएको छ ।
यही उपक्रममा मंगलबार अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला र महासचिव शोभा गौतमसहितको प्रतिनिधिमण्डले पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेयसँग ज्ञापनपत्रसहित शिष्टाचार भेटघाट गरेको छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङलाई संघले बुझाएको ध्यानाकर्षण पत्रमा चाडबाडको बेला आयोजना गरिने अनिधिकृत मेला रोक्न,सडक पेटीमा गरिने व्यवसाय बन्द गराउन तथा महानगरसहित आधिकारिक निकायमा दर्ता भइ संचालनमा रहेका व्यवसायीको हितलाई केन्द्रमा राख्न आग्रह गरेको छ ।
अध्यक्ष कार्कीका अनुसार चाडबाडकै बेला पारेर सरकारी निकायमा दर्ता नै नभएका, करको दायरामा नआएका तथा उपभोक्ताको हितप्रति संवेदनशील नरहेका व्यक्ति वा समूहबाट सार्वजनिक स्थल तथा सष्डक पेटीमै बसेर व्यापार÷व्यवसाय गरिनु गैरकानूनी तथा दण्डनीय भएको कुुरा कार्यवाहक नगर प्रमु्खलाई जानकारी गराइएको छ । यसका अलावा ध्यानाकर्षण पत्रमार्फत् कर प्रणालीभन्दा बाहिर रहेका व्यक्ति वा समूहलाई करको दायराभित्र ल्याउन चाडबाडको समयमा मुख्य बजार क्षेत्रमा हुने अत्यधिक सवारी साधन आवागमनलाई व्यवस्थापनका निम्ति जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्दै नगरबासीलाई सुविधा प्रदान गर्नको निम्ति पनि महानगरसँग आग्रह गरिएको छ ।
संघका महासचिव शोभा गौतमका अनुसार ध्यानाकर्षणपछि कार्यवाहक मेयर गुरुङबाट संघले उठाएका विषयहरु संवोधन गरिने आश्वासन प्राप्त भएको छ ।
‘उहाँले बजार अनुगमन गर्दा व्यवसायीलाई दुःख नदिइयोस्, वर्षौं लगाएर बनाएको प्रतिष्ठा (गुडविल) बिगार्ने काम नहोस् भन्ने हाम्रो आग्रहलाई उहाँ ( कार्यवाहक प्रमुख ) र्ले सकारात्मक रुपले लिनुभयो,’उनले भनिन्,‘ व्यावसायिक वातावरण निर्माणका निम्ति सहकार्य गर्ने विषयमा पनि उहाँ प्रष्ट हुनुहुन्छ ।’
यस्तै,कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेसमक्ष पनि संघले यही विषयलाई प्राथमिकतासाथ उठाएको संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए । जवाफमा प्रमु्ख जिल्ला अधिकारी पाण्डेबाट सम्पूर्ण व्यवसायी स्वयं पनि उपभोक्ता भएकाले गुणस्तरीय सामग्री बिक्री बितरण गर्न तथा सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा पनि रचनात्मक योगदान दिन आग्रह गरिएको वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यको भनाइ छ ।
महासचिव गौतमका अनुसार संघले प्रमुख जिल्ला अधिकारीको आग्रह अनुसार क्यूआर कोडमार्फत् गुनासो गर्न पाउने उपभोक्ताको अधिकारका निम्ति क्यूआर कोडसहितको जानकारीमूलक सूचनाहरु प्रकाशित गर्ने भएको पनि बताइन् ।
आन्तरिक राजश्व कार्यालयसँग भने कर चुक्ताको लागि आवश्यक पर्ने डे वान फर्म ( एक करोडसम्मको कारोबार गर्दा व्यवसायी स्वयंले अनलाइनमार्फत् भर्नुपर्ने ) भर्न व्यवसायीहरु अझै अभ्यस्त नभएको भन्दै सहजीकरणको लागि संघलाई सहजीकरणको अनुमति दिन माग गरिएको संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले जानकारी दिए ।
यस्तै प्रमुख कर अधिकृतसमक्ष आन्तरिक राजश्व विभागले यसअघि गरेको व्यवस्था बदल्दै १ करोडसम्मको कारोबार गर्नेहरुको हकमा असोज मसान्तभित्रै,२५ करोड रुपैयाँको हकमा मंसिर मसान्त र त्यसभन्दा माथिको कारोबारको हकमा चैत २० गतेसम्म कर विवरण दाखिला गर्नुपर्ने भन्ने सूचना व्यवहारिक नभएको भन्दै त्यसमा पुनर्विचार तथा पुरानै व्यवस्था कायम गराउन माग गरिएको थियो ।
जवाफमा प्रमुख कर अधिकृत शिव शर्माले संघले डे वान फर्म भर्न सहजीकरण गर्नु स्वागतयोग्य भएको भन्दै कर चुक्ताको नयाँ व्यवस्था व्यवहारिक नभएको भन्ने संघको गुनासो आन्तरिक राजश्व विभागलाई जानकारी गराउने आश्वासन दिएको महासचिव गौतमले बताइन् ।
जिल्ला ट्राफिक कार्यालय कास्कीसँग संघले चाडबाडको बेला हुने सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन गर्न, किनमेलका लागि बजार आउनेहरुलाई व्यवहारिकता हेरी सहजता प्रदान गर्न आग्रह गरेको थियो ।
‘चाडबाडसँगै स्वभाविक रुपले ट्राफिक व्यवस्थापनमा पनि चुनौतीहरु थपिएका छन्् । हामी यहाँहरुप्रति पूर्ण भरोशा राख्दै, चाडबाडको समयमा मुख्य बजार क्षेत्रमा हुने थप सवारी आवागमन र अव्यवस्था अत्यमा यहाँबाट थप प्रयत्नको अपेक्षा गर्दछौँ,’ कास्कीकी ट्राफिक प्रमुख शोभा पाण्डेयलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ यसका साथै किनमेलको लागि बजारमा निस्केका नागरिकको हितलाई केन्द्रमा राख्दै कानून उल्लंघन नहुने तर सहजता प्रदान गर्ने व्यवस्था मिलाउनेप्रति पनि यहाँको ध्यान पुग्ने अपेक्षा राखेका छौं ।’
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख पाण्डेयले निर्जीव संशाधन ( ट्राफिक लाइट,सीसी क्यामेरालगाय) का प्रविधि नहुँदा सडकमै उभिएर ट्राफिकले सवारी व्यवस्थापन गर्नुपरेको बताउँदै कानून कार्यान्वनय गर्ने क्रममा कहिलेकाहिँ ट्राफिकबाट पनि अन्य व्यक्तिले जस्तै मानवीय स्वभाव प्रदर्शन हुनुलाई अन्यथा नलिन आग्रह गरिन् । उनीबाट चाडबाड लक्षित सुरक्षा व्यवस्थासँगै ट्राफिक व्यवस्थापनलाई पनि चुस्त राख्ने प्रयत्न गरिने आश्वासन प्राप्त भएको महासचिव गौतमले बताइन् ।
महासचिव गौतमका अनुसार व्यावसायिक हितका निम्ति संघले यस्ता भेटघाटलाई निरन्तता दिनेछ । यसअघि पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा अनुगमनको नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन विज्ञप्तिमार्फत् सरोकारवालासँग आग्रह गरेका थिए ।