बुद्ध विशालबजारका व्यवसायीलाई भ्याट र करसम्बन्धी दुई दिने तालिम सम्पन्न

पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोग तथा बुद्ध विशालबजार व्यापारिक एसोसियसनसँगको सहकार्यमा बुद्ध विशाल बजारका व्यवसायीहरुलाई दुई दिने भ्याट तथा करसम्बन्धी तालिम दिएको छ । तालिममा बुद्ध विशाल बजार तथा पोखराका विभिन्न क्षेत्रमा रहेका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले राज्यले करको नाममा कसैलाई नतर्साउने तर व्यवसायीहरुले पनि आफ्नो दायित्व के हो भन्ने बुझ्नुपर्ने बताए ।

अहिलेको नेपालको कर प्रणाली स्वघोषणामा आधारित भएको बताउँदै उनले आफूले तिर्नुपर्ने कर समयमा बुझाउन तथा उपभोक्तासँग उठाइएको भ्याट समयमा नै आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्न व्यवसायीसँग आग्रह गरे । आन्तरिक राजश्व कार्यालयले करिब ८५ प्रतिशत करसम्बन्धी कार्य कागजविहीन अवस्थामै संचालन गरेको बताउँदै उनले सूचना प्रविधिको प्रयोग गर्न र कर सहयोगीसँग भर नपर्न पनि व्यवसायीलाई अनुरोध गरे ।

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुले आफ्नो खातापाता चुस्त र दुरुस्त राख्दा थप जरिवानाको मारमा नपरिने भएकाले त्यसप्रति सचेत हुन आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एसोसियनसका मानार्थ सदस्य केशवबहादुर खत्रीले व्यापार व्यवसाय संकुचनमा किन परेको भन्नेबारे राज्य गम्भीर बन्नुपर्ने बताए ।