पोउवा संघका अध्यक्षद्वारा नेपालमा भारतीय लगानीको आह्वान

पोखरा,२९ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् ।
नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् । डीएलएफ भारतको अग्रणी रियलस्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बइ र विदेशमा पनि अपार्टमेण्ट र बस्ती निर्माण गर्दै आएको छ ।
उनले भारतीय लगानीकर्ताको लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको पर्यटन उद्योगमा भारतीय लगानीको लागि आह्वान गर्दै उनले भने,‘ पोखरादेखि दिल्ली टाढा छैन । अझ, गोरखपुरदेखि बिहार र उत्तर प्रदेशका धेरै सहरहरुबाट यहाँ आफ्नै गाडीमा एकैदिन आउन सक्ने अवस्था छ । यतिबेला गोरखपुर र लखनउमा उधुम गर्मी छ । त्यहाँको गर्मी छल्ल,स्कूलको समर भ्याकेसनमा उनीहरुलाई सितल ठाउँ घुमाउनको निम्ति पोखराभन्दा सुन्दर र सुरक्षित ठाउँ अर्को छैन । यहाँहरु पर्यटन उद्योगमा लगानी गर्न सक्नुहुन्छ ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडानको लागि जनस्तरमा पहल गर्न आग्रह पनि गरे ।
‘हामी निरन्तर पोखरा– दिल्ली,मुम्बइ, लखनउ, वाराणशी, अयोध्यालगायतका सहरहरुमा उडानको लागि लविङ गरिरहेका छौँ,’उनले भने,‘ हवाइ यात्राले पोखरा र मुक्तिनाथ पुग्न चाहने भारतीय पर्यटक र वाराणशी,अयोध्या,गुजरात,सुरत र भारतका अन्य औद्यागिक क्षेत्र जाने धार्मिक पर्यटक,उद्योगी÷व्यवसायी तथा उपचारको लागि दिल्ली जाने सबैलाई सुविधा पुग्छ ।’
कार्यक्रममा डीएलएफका डेपुटी जनरल म्यानेजर प्रियङ्का ओझा,सेल्स म्यानेजर अतुल डोन्डे र सहायक म्यानेजर प्रतिक सिंहलगायतले डीएलएफका गतिविधिबारे जानकारी दिएका थिए । सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे,वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य,उद्योग उपाध्यक्ष दीनेश बास्तोला,वाणिज्य उपाध्यक्ष बलराम आचार्य,कोषाध्यक्ष मनोजकुमार श्रेष्ठसहित कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको उपमहासचिव सुदीप प्रधानाङ्गले जानकारी दिए ।