प्रेस विज्ञप्ती

देशमा पछिल्लो समय विकसित घटनाक्रम एवं सिर्जित असहज परिस्थितिप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ । संघ सर्वप्रथम यो असामान्य परिस्थिति सहज बनोस् भन्ने प्रार्थना गर्दै आन्दोलनको क्रममा ज्यान गुमाएका होनाहार युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीर्घ स्वास्थ्यलाभको कामना गर्दछ ।
लाउँलाउँ र खाउँखाउँका उमेरका युवाहरु सडकमा भएको हामीलाई अवगत छ । हामी विरोध प्रदर्शनलाई सभ्य र शान्तिपूर्ण बनाउनका निम्ति युवाहरुलाई आह्वान गर्छौँ भने नागरिकको अभिव्यक्ति स्वतन्त्रताको ख्याल राख्दै उनीहरुको आवाज सुन्नका निम्ति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराउँछौँ । बल प्रयोगले हैन,वार्ता र संवादको माध्यमबाट नै असामान्य परिस्थितिलाई सहज बनाइयोस् भन्ने हाम्रो आग्रह रहेको छ ।
देश असामान्य परिस्थितितर्फ उन्मुख हुँदै गरेको हामीलाई आभाष भएको छ ।संयमता अहिलेको आवश्यकता हो । हामी सवै पक्षसँग संयमता अपनाउन आग्रह गर्दछौँ । तर, शान्ति–सुरक्षाको नाममा हठात जारी गरिएको निषेधाज्ञा तथा बलपूर्वक पसल–कवल बन्द गराउने कार्यप्रति पोखरा उद्योग वाणिज्य संघ स्तब्ध बनेको छ । प्रशासनिक सूचनाको प्रष्ट जानकारी नहुँदा तथा चाडबाडको मुखमा केही गरौँला भन्ने सोचबाट उत्प्रेरित रहेका व्यवसायीमाथि कानून कार्यान्वन गराउन राज्य पक्षले समेत बन्दलाई हतियार बनाइनु हुदैन भन्ने पोखरा उद्योग वाणिज्य संघको मान्यता रहेको छ । राज्यलाई कर तिर्ने व्यवसायीले आउँदा दिनमा बन्द र हड्तालबाट सिर्जित हुने असामान्य परिस्थिति सामना गर्न नपरोस् भन्ने पनि हाम्रो कामना छ । पोखरामा अहिले लागू गरिएको निषेधाज्ञालाई ख्याल राख्दै आफ्नो व्यवसायको सुरक्षा प्रबन्ध मिलाउन हामी व्यवसायीहरुलाई आग्रह पनि गर्दछौँ ।
हामी शान्ति र समृद्धि चाहन्छौँ । जेनजी पुस्ताको माग पनि त्यही हो भन्ने हामीले महसुस गरेका छौँ । सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका निम्ति हातेमालो गर्न निजी क्षेत्र तयार छ । उच्च ज्यालासहितको सम्मानित रोजगारी सिर्जना गर्न सके युवाहरुको असन्तुष्टि स्वतः संवोधन हुन्छ र पलायन दर रोकिन्छ भन्ने हाम्रो धारणा रहेको छ । नागरिकको सरकारी सेवामा सहज पहुँच,स्वतन्तापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिताले युवाको आक्रोश मत्थर पार्न सकिन्छ भने लगानी प्रवद्र्धनमार्फत् रोजगारी सिर्जना हुन्छ भन्नेमा संघ प्रष्ट छ । हामी यो तथ्य मनन गर्न सरकारसँग जोडदार मागसहित आन्दोलनरत जेनजी पुस्ता एवं सरकार समक्ष ‘घर पोलेर खरानीको होली खेल्नु हुँदैन’ भन्ने उखानको स्मरण गर्दै गतिरोध अन्त्यका लागि वार्तालाई साधन बनाउनका लागि आग्रह गर्दछौँ ।

गोकर्ण कार्की
अध्यक्ष