कपडा व्यवसायीहरुलाई भ्याट र करसम्बन्धी तालिम
पोखरा, १३ चैत । पोखराका कपडा व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर( भ्याट) सम्बन्धी तालिममा सहभागिता जनाएका छन् । उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति पोखरा कपडा व्यवसायी एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब 80 जनालाई तालिम प्रदान गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सामान बिक्री गरेपछि मागेमात्र बिल दिने प्रवृत्तिबाट कपडा मुक्त हुन व्यवसायीहरुलाई आग्रह गरे ।
अहिले विभिन्न च्यानलबाट व्यवसायीहरुका गतिविधि निगरानी हुने गरेकाले बिजक जारी नहुँदा स्टकमा सामान देखिने र त्यस्तोमा दण्डको भागिदार बन्नुपर्ने अवस्था आउने उनको भनाइ थियो । नयाँ सरकार बनेसँगै स्रोतको आवश्यकता पर्ने र त्यस्तोमा व्यवसायीमाथि थप निगरानी बढाउने सम्भावना रहेको पनि उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै पोखरा कपडा व्यवसायी एसोसियसनका अध्यक्ष लेखनाथ पौडेलले कपडा व्यवसायीहरुले राजश्व संकलनमा ठूलो योगदान दिने गरेको र कर र भ्याटसम्बन्धी शिक्षाले व्यवसायीलाई नै फाइदा पुग्ने बताए ।

