आयकर र भ्याटका प्रावधानहरु बुझ्दै व्यवसायीहरु ‘शरीर स्वस्थ्य र मन हुँदा व्यवसायमा पनि उन्नति हुन्छ’

 

पोखरा,७ वैशाख । उद्योग÷व्यवसाय संचालन गर्नु,रोजगारी दिनु र राजश्वमार्फत् राज्यकोषमा योगदान दिनेहरु कस्ता हुन्छन् ? के उद्योग÷व्यवसायमा सफल हुन मानसिक स्वास्थ्य वा अध्यात्मको योगदान हुन्छ ? यी प्रश्न जति सरल छन्,उति नै कठीन पनि । दृष्टिकोण आ–आफ्ना होलान् तर मानसिक शान्ति बिना उद्योग÷व्यवसायमा पनि सफलता टाढा हुन्छ भन्छन्–मानव सेवा आश्रम पोखराका प्रमुख रामजी अधिकारी । सडकआश्रित र सहाराविहीनलाई सहारा दिँदै आएको संस्थाका प्रमुखको भनाइ मान्ने हो भने चित्त शुद्ध नहुँदा,तन,मन र शरीरमा उर्जा कम हुँदा त्यसले व्यवसायलाई पनि असर पार्छ । आँटे–ताकेका काम पूरा हुँदैनन् ।
व्यवसायीको धर्म नाफा कमाउनु हो तर त्यसमा सेवा भाव पनि हुनैपर्ने उनको भनाइ छ । शरीर स्वस्थ र मन खुसी हुनेले नै सफलता प्राप्त गर्ने उनको भनाइ छ ।
मानव सेवा आश्रम पोखरा प्रमुख अधिकारी सोमबार पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा आयोजना गरेको आयकर तथा भ्याट एवं संघ÷संस्था व्यवस्थापनसम्बन्धी तालिममा प्रमुख अतिथिको रुपमा बोल्दै थिए । उनले आम्दानी र खर्चको हिसाब चुस्त राखिरहँदा मनको व्यवस्थापनमा पनि ध्यान दिन पटक–पटक आग्रह गरे ।
एक सयभन्दा बढी सहभागीमाझ उनले सेवा भावले व्यावसायिक उन्नतिमा सघाउने पनि बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मूल्य अभिवृद्धि कर,आयकर र अन्तशुल्कका विषयहरुबारे जानकारी राख्दा सम्भावित दण्ड–जरिवानाबाट जोगिनुमात्र नभएर असल नागरिकको जिम्मेवारी बहन गर्नु पनि हो भने । पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरिरहेका विभिन्न कार्यहरुबारे जानकारी दिँदै अध्यक्ष कार्कीले नीतिगत पैरवी,तालिम–गोष्ठी र परामर्शलाई संघले सँगै अगाडि बढाएको बताए ।
संघकी महासचिव तथा कार्यक्रम संयोजक शोभा गौतमले जीआइजेडको राजश्व सुधार परियोजना (आरएसआरएसडी) सँगको सहकार्यमा संघले उद्योगी÷व्यवसायीका निम्ति १४ वटा यस्तै खालका तालिम आयोजना गरेको जानकारी दिइन् । सहभागीहरुलाई सिए विवेक श्रेष्ठले करका विविध आयामबारे प्रशिक्षण दिएका थिए ।