पोउवा संघका अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित
पोखरा,८ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की उद्योगी÷व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यम मनोनित हुनुभएको छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको विधान (२०४९,सातौं संशोधन) को अधिकार प्रयोग गर्दै कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
महासंघको विधानमा भएको छैटौं संशोधनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो । त्यही व्यवस्था बमोजिम पोखराको व्यावसायिक प्रतिष्ठान लक्ष्मी समूहका निर्देशक अञ्जन महासंघको ६० औं वार्षिक साधारण सभापछि अध्यक्षको जिम्मेवारीमा पुग्नु भएको हो । अन्य पदमा भने निर्वाचन भएको थियो । पछिल्लो संशोधित विधानले अब अध्यक्ष पनि प्रत्यक्ष चुन्ने व्यवस्था गरेको हो ।
अध्यक्ष श्रेष्ष्ठले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीसहित शिव घिमिरे,मनिषलाल प्रधान,नविन रिजाल,दर्शना श्रेष्ठ र सहारा जोशीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
केन्द्रीय सदस्यमा मनोनित भएसँगै कार्कीले निजी क्षेत्रका समस्या समाधान,नीतिगत पैरवी र व्यावसायिक वातावरण निर्माणका निम्ति अझ बढी क्रियाशिल रहने बताउनुभयो ।

