पोखरा र मोरङका महिला उद्यमीबीच सहकार्यको सहमति

पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण  कार्कीले महिला उद्यमशिलता विकासका निम्ति वित्तीय संस्थासँगको सहज पहुँच र ऋण लिने प्रक्रियामा सरलीकरण जरुरी रहेको बताएका छन् ।
उद्योग÷व्यवसायमा महिला सहभागिता बढ्दा रोजगारी र राष्ट्रिय अर्थतन्त्र फस्टाउने सत्यलाई राज्यले मनन गर्नुपर्ने पनि उनको भनाइ छ ।
अध्यक्ष कार्की सोमबार  मोरङ उद्योग व्यापार संघको महिला उद्यम उपसमितिको प्रतिनिधिमण्डलसँगको अन्तक्र्रियामा बोल्दै थिए ।
पोखरा उद्योग वाणिज्य संघले मोरङका प्रतिनिधिमण्डलको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईको पनि उपस्थिति रहेको थियो ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन र कार्यसमिति सदस्य दुर्गा बरालको धन्यवाद रहेको कार्यक्रममा बोल्दै मोरङ महिला उद्यम समिति संयोजक श्रुति शर्माले सरकारले महिला उद्यमीलाई लक्षित गर्दै केही नीतिगत निर्णय गरे पनि त्यो प्राप्तिमा साह्रै झन्झट हुने गुनासो गरिन् ।
‘महिलाहरुलाई पशुपालन र सानोतिनो कामका निम्ति सहयोग घोषणा गरिन्छ । त्यतिसम्म ठीकै छ तर त्यो सहुलियत लिने क्रममा रहेका सर्तहरु पूरा गर्न साह्रै गाह्रो हुन्छ । जसले गर्दा घोषित सहुलियत लक्षित वर्गले पाउने अवस्था रहँदैन,’उनले भनिन् ।
अन्तक्र्रियापछि दुवै उद्योग वाणिज्य संघका महिलाबीच सहकार्यको सहमति समेत भएको पोउवा संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।