पोउवा संघका तनहुँ उवा संघको प्रतिनिधिमण्डल
पोखरा,१४ जेठ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले निजी क्षेत्रबीचको एकता र सहकार्यलेमात्र उद्योगी÷व्यवसायीहरुको खस्केको मनोवल उकास्न सकिने बताएका छन् ।
देशव्यापी संयन्त्र भएको नेपाल उद्योग वाणिज्य महासंघले मोफसलका उद्योगी÷व्यवसायीहरुले भोग्नु परेका समस्याप्रति बढी चासो दिनुपर्ने बताउँदै उनले केन्द्रीय सदस्यको रुपमा जिल्ला नगर उद्योग वाणिज्य संघको आवाज केन्द्रमा पु¥याउने प्रतिवद्धता पनि जनाए ।
अध्ययन अवलोकन भ्रमणमा आएको तनहुँ उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डललाई स्वागत गर्ने क्रममा बिहीबार केन्द्रीय सदस्य कार्कीले सो कुरा बताएका हुन् ।
सो अवसरमा महासंघकी अर्की केन्द्रीय सदस्य हीरा भट्टराईले महिला उद्यमशीलता विकासको लागि नीतिगत पहलको प्रतिवद्धता जनाइन् ।
यस्तै महासंघका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठले उद्योगी÷व्यवसायीहरुलाई प्रोत्साहित गरेमात्र राजश्व वृद्धि र रोजगारी सिर्जना हुने सत्यलाई राज्यले मनन गर्नुपर्ने धारणा राखे ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले पोखरा र तनहुँ उद्योग वाणिज्य संघबीचको सम्बन्धबारे चर्चा गर्दै साझा एजेण्डामा आउँदा दिनमा पनि सहकार्य हुनुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव शोभा गौतमको स्वागत रहेको कार्यक्रममा तनहुँको तर्फबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान व्यक्त गरिएको थियो ।


