चाडवाड लक्षित छुट योजना संचालन गर्न पोउवा संघको आग्रह छुट दिने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा,३० भदौ ।
पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ ।
अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् । ‘ चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ,सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’
अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाडलक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा हुने अनावश्यक धरपकड भने अस्वीकार्य हुने उनको भनाइ छ । बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आफ्ना समस्याहरुबारे जानकारी दिन आग्रह गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ हरेक व्यवसायीका समस्या समाधान गर्न प्रयत्नशील छ तर ती समस्याबारे हामीलाई जानकारी दिनुहोस् ।’उनले तालिम र गोष्ठीको माध्यमबाट व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्घोष पनि गरे ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले व्यवसायीहरुको सरोकार रहेको घरभाडा,न्यून विजीकरण,बैंक व्याजलगायतका समस्याहरुबारे संघले निरन्तर पैरवी गरिरहेको जानकारी गराए । उनले वैधानिक तरिकाले व्यवसाय गर्नेहरुको सुरक्षा पोखरा उद्योग वाणिज्य संघको पहिलो प्राथमिकता रहेको बताउँदै भने,‘व्यवसायको नाममा इस्टमेट लेखिएको कागजमा बिल काट्नेहरुको संरक्षण भने गर्न सकिँदैन ।’
महासचिव बलराम आचार्यको संचालन र वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यको संचालन रहेको सो कार्यक्रममा आफ्ना धारणा राख्दै संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चाडवाड लक्षित सुव्यवस्थित बजार पोखरा उद्योग वाणिज्य संघको चाहना भएको बताए । उनले चाडवाडको बेला हुने बजार अनुगमनको नाममा व्यापारीको मानमर्दन नगर्न प्रशासनसँग आग्रह पनि गरे ।
छलफल कार्यक्रममा बोल्दै कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष तथा संघकी पूर्वकार्यसमिति सदस्य सीता गुरुङले कच्चा पदार्थको मूल्य बढ्दा हस्तकला उद्योग संकटमा परेको बताइन् । उनले बस्तुगत संघको अभिभावकत्व ग्रहण गर्न संघलाई आग्रह गरिन् । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष शेषकान्त ढकालले चाडवाडमा अखाद्य बस्तुको बिक्री–वितरण नगर्न व्यवसायीहरुसँग आग्रह गरे । अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले माल ढुवानी गर्ने साधनको स्वरुप बिगारेको आरोपसहित आफूहरुमाथि प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको गुनासो गरे । बढ्दो ट्राफिक अव्यवस्थालाई कम गर्न थोक बिक्रेताहरुले साना गाडी प्रयोगमा ल्याएको र खाद्य सामग्रीको सुरक्षाको लागि छत र सामान निकाल्ने ढोका राख्दा समस्यामा पारिएको उनको भनाइ थियो । पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले घरबहाल करलाई एकीकृत सम्पत्ति करसँगै उठाउने व्यवस्था हुनुपर्ने माग गरे । साँघुमुख महेन्द्रपुल व्यवसायी संघका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले पोउवा संघले आयोजना गर्ने मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री हुनुपर्ने माग गरे । पोखरा फेब्रिकेटर्स एसोसियसनका अध्यक्ष विश्वप्रकाश श्रेष्ठले नेपालको कर नीति राजश्व संकलनमा मात्रै केन्द्रीत भएकाले त्यसमा सुधार जरुरी भएको बताए । नेपाल सुनचाँदी तथा रत्न आभुषण संघका अध्यक्ष रामबहादुर विश्वकर्माले राजधानी बाहिरका व्यवसायीहरुले काँचो सुन नपाएको गुनासो गरे । बगर व्यवसायी कल्याणकारीका अध्यक्ष प्रकाश बास्तोलाले पोखरा उद्योग वाणिज्य संघले बस्तुगत संघ र सरकारबीच पुलको काम गरोस् भन्ने कामना व्यक्त गरे । पशुपंक्षी तथा औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सापकोटाले सहकार्यले मात्रै समृद्धि हाँसिल हुने बताए । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठले मुद्रण उद्योगमा दक्ष जनशक्ति अभाव भएको बताउँदै जनशक्ति उत्पादनमा लाग्न संघसँग अनुरोध गरे । पोखरा महानगर चेम्बर अफ कमर्सका अध्यक्ष सविन जिसीले दसैंको बेला सरकारी तवरबाट दिइने छुटहरु काठमाडौं केन्द्रीत भएको गुनासो गरे । पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष पविन्द्र पालिखेले नक्सा पास नभएका घर टहरा भत्काउने महानगरको निर्णयले केही व्यवसायीहरु समस्यामा परेको जानकारी गराए । पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष बैकुष्ठ पौडेलले अहिले व्यवसाय प्रवद्र्धनभन्दा पनि सुरक्षा मुख्य चुनौती भएको धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले आउँदो दसैं र तिहारमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरुले आ–आफ्नो संस्थाबाट औपचारिक निर्णय गर्दै चाडवाड लक्षित छुटका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।