पोउवा संघको व्यापार मेलाको तयारी सुरु, कार्यसम्पादन तथा विभिन्न उपसमिति गठन

पोखरा, २२ असोज । पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले आउँदो मंसिरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उदेश्यले मेला आयोजना हुन लागेको हो । कोभिड १९ का कारण दुई संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वका कार्यसम्पादन समिति गठन गरिसकिएको छ । सो समितिको अतिथि सत्कार व्यवस्थापन उप–समिति संयोजकको जिम्मेवारी संघका निवर्तमान अध्यक्ष नारायण कोइरालालाई दिइएको छ भने स्टल निर्माण–व्यवस्थापन उपसमितिको संयोजक संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की रहेका छन् । सुरक्षा व्यवस्थापनको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी तथा प्रायोजक व्यवस्थापन वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सम्हाल्ने भएका छन् । प्रचार प्रसारको जिम्मेवारी महासचिव बलराम आचार्यको काँधमा छ । आर्थिक व्यवस्थापनमा संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, सांस्कृतिकतर्फ उपमहासचिव शोभा गौतम,पर्यटनमा कार्यसमिति सदस्य प्रभा सुवेदी,बालउद्यानमा कार्यसमिति सदस्य बालकृष्ण कोइराला र प्रकाशन तथा उपहार व्यवस्थापनमा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार कार्यसमितिका सदस्यहरु भरत केसी, दीलिपकुमार श्रेष्ठ,कृष्णप्रसाद कोइराला,भिम गौतम,माधव बस्ताकोटी र सुदीप ओझालाई क्रमशः स्वास्थ्य,मुलद्धार, खानेपानी तथा वातावरण,स्थानीय समन्वय तथा पार्किङ र टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।
हस्तकला उपसमिति संयोजकमा बन्दना केसी कार्की, बिद्युत तथा टेलिफोनमा रामप्रसाद कडेल, स्टल बिक्रीमा जीवनप्रकाश श्रेष्ठ, संघ–संस्था व्यवस्थापनमा प्रेमप्रसाद सुवेदी,मञ्च व्यवस्थापन तथा बस्तुगत संघ समन्वयमा लेखनाथ सुवेदी,कृषि व्यवस्थापनमा लिलाधर चपाईं र उद्योग व्यवस्थापन उपसमितिमा युवकबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु संयोजक रहेका समितिमा संयोजकले नै बाँकी सदस्य थप गर्ने महासचिव आचार्यले जानकारी दिए ।