पोउवा संघमा सहायक सूचिकार तालिम

पोखरा,१९ असार ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् ।
पोखरा महानगरबाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको ६५ दिने छोटो अवधिको निःशुल्क तालिहहरु इसिडी सहजकर्ता तालिम(मन्टेश्वरी अवधारणा) र सहायक सूचिकार तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सो कुरा बताएकी हुन् । ज्ञान र सीपलाई उत्पादनसँगै आयआर्जनमा जोड्नुपर्नेमा उनको जोड थियो । उनले एउटा तालिम लिने र त्यो प्रमाणपत्र घरमा राखेर फेरि अर्को तालिम लिन हिँड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने पनि बताइन् ।
पोखरा उद्योग वाणिज्य संघको तथा सिटीइभिटीको सहयोगमा आयोजित तालिम समापनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उद्यमशीलता विकास संघको पहिलो सर्त भएको बताए । पोखरा उद्योग वाणिज्य संघ व्यावसायिक तालिम तथा त्यसपछि उत्पादित सामग्रीको बजारीकरणमा सघाउन तयार भएको उनको भनाइ थियो । कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी बहुप्राविधिक विद्यालयका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतले बोलेका थिए ।