पोखरा उद्योग वाणिज्य संघको शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न

पोखरा,११ असोज ।
पोखरा उद्योग वाणिज्य संघले मंगलबार दशैं,तिहार नेपाल संवत र छठको उपलक्ष्यमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य,कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, नेपाल उद्योग वाणिज्य महासंघका तथा संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, अर्का पूर्वअध्यक्ष चण्डीराज ढकाल,पूर्वउपाध्यक्ष उमेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष संजिवबहादुर कोइराला, केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष दामु अधिकारी, अर्का केन्द्रीय सदस्य बलराम गिरी,पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास,दीपक श्रेष्ठ,राजेन्द्रकुमार लालचन,मानकाजी माकाजु,कृष्णमोहन श्रेष्ठ,निवर्तमान अध्यक्ष नारायण कोइराला,विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, संघका साधारण सदस्यलगायतको सहभागिता रहेको थियो ।
शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागीहरुलाई संघका अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वागत गरेका थिए । संघका अध्यक्ष प्रजापतिले शुभकामना आदान–प्रदान कार्यक्रमलाई औपचारिकमात्रै नभएर आपसी सम्बन्ध बिस्तारको महत्वपूर्ण अवसरको रुपमा लिइएको बताए । उद्योगी÷व्यवसायीहरुको छाता संस्था तथा पोखराको जेठो सामाजिक संस्थाको तर्फबाट शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रजापतिले आर्थिक समृद्धिको लागि सबैको सहकार्य जरुरी रहेको औंल्याए । पोखरा उद्योग वाणिज्य संघले यसअघि नै दैनिक उपभोग्य बस्तुहरुमा छुट दिन व्यवसायीहरुलाई आग्रह गरेको स्मरण गर्दै उनले मितव्ययी हुन आम नागरिकसँग अनुरोध पनि गरे ।
‘हामीले व्यवसायीहरुलाई चाडबाडमा सक्दो छुट दिन र शान्ति सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनसँग अनुरोध गरेका छौँ’,उनले भने,‘चाडपर्वहरुले देशमा समृद्धि र सुख ल्याओस् भन्ने हाम्रो कामना हो ।’ संघका महासचिव बलराम आचार्यले कार्यक्रममा भएको उपस्थितिप्रति सबैलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीमाथि आइपर्ने समस्या समाधानको लागि संघ सदैव क्रियाशिल रहने बताए ।