प्रधानमन्त्री प्रचण्डसँग पोउवा संघका प्रतिनिधिमण्डलको भेटघाट पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्ने प्रमको प्रतिवद्धता

पोखरा १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि आफैंले विशेष पहल गर्ने बताएका छन् ।
‘म छिट्टै चीन भ्रमणमा जाँदैछु, त्यहाँ पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ब्रेक थ्रु नै हुनेवाला छ’पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटघाटको क्रममा उनले भने,‘भारतसँग पनि कुरा भएको छ । अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ उनले कोरला नाका संचालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने जानकारी गराए ।
भेटघाटको क्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे । बजारमा भारतीय रुपैयाँको विनिमय दर नै घटेको जानकारी गराउँदै मुल्मीले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । पोखराको एयरपोर्टको दीगो संचालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलंका एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकणर् कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगंगा जलविद्युत परियोजना निर्माण,प्रशारण लाइनको उचित व्यवस्थापननको माग गरे । उनले प्रधानमन्त्रीसमक्ष मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे । उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।
‘यतिबेला निजी क्षेत्रको मनोबल खस्केको छ । कर्जामा बढेको ब्याजदर, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित मन्दीका कारण व्यवसायबाट पलायनदर बढेको छ,’ उनले भने,‘ प्रधानमन्त्रीज्यूले निजी क्षेत्रको नुर गिर्न नदिने प्रतिवद्धता व्यक्त गरिसक्नुभएको छ । हामी सरकारबाट देखिने र अनुभूति हुने गरी निजी क्षेत्रको मनोवल बढाउने खालको घोषणाको अपेक्षा गर्दछौं ।’
कार्यवाहक अध्यक्ष कार्कीले पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउन,े कोरला-त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि माग गरे । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न, गुरुयोजनासहितको सहर निर्माण थाल्न, पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न तथा फेवाताल संरक्षण एवं व्यक्तिको जग्गाको मुआब्जाको लागि रकम निकासाको माग पनि गरे । हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनहरुको प्रवद्र्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उनले पोखरा उद्योग वाणिज्य संघले कोसेली घर निर्माणको सोच बनाएको जानकारी पनि गराए ।
प्रधानमन्त्रीसँगको भेटघाटमा संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य र महासचिव बलराम आचार्यको पनि सहभागिता थियो ।