स्केल अप नेपाल को आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा ३ दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम सम्पन्न

#pcci #scaleupnepal #AIforProductivity #brandmanagement #B2BSales #pokhara
पोखरा, ०७ असार — स्केल अप नेपाल तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने विशेष तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
व्यवसाय तथा उद्यमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, आधुनिक व्यवसायिक प्रविधिको प्रयोग तथा बजार व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त तालिममा विभिन्न विषयका विज्ञ प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो।
तालिमको पहिलो दिन प्रशिक्षक श्री सौरभ लोहनीले B2B Sales Strategy सम्बन्धी प्रशिक्षण प्रदान गर्दै व्यवसाय–व्यवसाय (Business-to-Business) बिक्री प्रणाली, ग्राहक सम्बन्ध व्यवस्थापन, प्रभावकारी बिक्री रणनीति तथा बजार विस्तारका विविध पक्षहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
दोस्रो दिन प्रशिक्षक श्री अभिनाश गुप्ताले Brand Management विषयमा प्रशिक्षण प्रदान गर्दै ब्रान्ड निर्माण, ब्रान्डको पहिचान, ग्राहकको विश्वास आर्जन तथा व्यवसायको दीर्घकालीन सफलतामा ब्रान्ड व्यवस्थापनको महत्वबारे प्रकाश पार्नुभएको थियो।
त्यसैगरी तेस्रो दिन प्रशिक्षक श्री चन्दन गुप्ताले AI for Productivity विषयमा प्रशिक्षण प्रदान गर्दै कृत्रिम बौद्धिकता (Artificial Intelligence) को प्रयोगमार्फत कार्यक्षमता अभिवृद्धि, समय व्यवस्थापन, व्यवसायिक निर्णय प्रक्रियामा सुधार तथा दैनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विभिन्न आधुनिक उपकरणहरूको प्रयोगबारे व्यावहारिक जानकारी दिनुभएको थियो।
कार्यक्रम समापनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीले वर्तमान व्यवसायिक परिवेशमा प्रविधि, नवप्रवर्तन तथा दक्ष व्यवस्थापनको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमले व्यवसायीहरूलाई समयानुकूल ज्ञान, सीप र प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवसाय तथा पेशागत क्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
अध्यक्ष कार्कीले निजी क्षेत्रको क्षमता विकास, व्यवसायिक प्रतिस्पर्धात्मकता अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धनका लागि पोखरा उद्योग वाणिज्य संघले आगामी दिनहरूमा समेत यस्ता उपयोगी तथा परिणाममुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमलाई समयानुकूल, व्यवहारिक तथा व्यवसायिक विकासका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया व्यक्त गरेका थिए